काठमाडौं । नेपाल र लाओसबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालका लागि लाओसका अवैतनिक वाणिज्यदूत राजु श्रेष्ठले नेपालका लागि लाओसका नवनियुक्त राजदूत महामहिम भिथाया सायाभोङको सम्मानमा आयोजित स्वागत कार्यक्रममा दुई देशबीच सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउनुपर्ने बताएका हुन् ।
श्रेष्ठले नेपाल र लाओसबीचको साझा बौद्ध सम्पदालाई द्विपक्षीय सम्बन्ध विस्तारको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै लुम्बिनीमा लाओसको बुद्ध मन्दिर निर्माणका लागि लाओस सरकार तथा सम्बन्धित निकायको सहयोग र समन्वय आवश्यक रहेको बताए ।
नेपाल सरकारले मन्दिर निर्माणका लागि लुम्बिनीमा जग्गा उपलब्ध गराइसकेको जानकारी दिँदै उनले उक्त परियोजनालाई दुई देशबीचको मित्रताको स्थायी प्रतीक बनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी, लामो समयदेखि रोकिएको नेपाल–लाओस चेम्बर अफ कमर्स गठन प्रक्रियालाई अगाडि बढाउन आफू इच्छुक रहेको बताउँदै श्रेष्ठले दुवै देशका व्यवसायी समुदायको सहभागिताबाट व्यापार, लगानी र पर्यटनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे ।
नेपाल र लाओसका नागरिकबीच एकअर्काको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी तथा अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिँदै उनले जनस्तरको सम्बन्धले कूटनीतिक मित्रतालाई थप अर्थपूर्ण बनाउने बताए ।
नेपालका प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानले लाओसमा गर्दै आएको सेवा र सहकार्यलाई दुई देशबीचको मित्रताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै श्रेष्ठले यस कार्यले स्वास्थ्य सेवामार्फत जनस्तरमा सम्बन्ध विस्तार गरेको उल्लेख गरे ।
उनले लाओसका नवनियुक्त राजदूत महामहिम भिथाया सायाभोङलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल र लाओसबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन अवैतनिक वाणिज्यदूतको कार्यालयले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, लाओसका नवनियुक्त राजदूत भिथाया सायाभोङले आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपाल र लाओसबीच धेरै समानता रहेको बताइन्। दुवै देशमा पहाड तथा प्राकृतिक सम्पदाको समानता रहेको उल्लेख गर्दै उनले पर्यटन र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्न आफू उत्साहित रहेको बताइन्। यस्तो सहकार्यले दुवै देशलाई लाभ पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतले पनि नेपाल र लाओसबीचको साझा प्राकृतिक तथा सांस्कृतिक सम्पदाबारे चर्चा गरे। दुवै देशमा ऐतिहासिक सम्पदा र पहाडहरू रहेको उल्लेख गर्दै उनले लाओसमा बौद्ध धर्मावलम्बीहरूको ठूलो उपस्थिति रहेको र गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले त्यहाँका नागरिकले नेपाललाई विशेष सम्मान गर्ने गरेको बताए ।
लाओस भ्रमणका क्रममा त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग भेट गरी अन्धोपनको समस्या र त्यसको समाधानका लागि गर्न सकिने कामबारे छलफल गरेको डा. रुइतले जानकारी दिए ।

