शनिबार, पुस २१, २०८०
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७, बिमवाङमा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । धारिलो ढुंगा (छपनी) प्रहार गरिँदा गम्भीर घाइते भएकी स्थानीय सात वर्षीया प्रियंका गर्बुजाको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
“प्रियंकाकी हजुरआमा ७० वर्षीया मनीषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो,” उनले भने, “हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।”
चिर्पट प्रहार गरिँदा घाइते भएकी छिमेकी ६६ वर्षीया अमृता जुग्जालीको मणिपाल अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त रहेका बताएका प्रनाउ कुँवरले जानकारी दिए । मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।


