२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

१६ वर्ष अघिको त्यो भयानक दुर्घटना

‘फेरि त्यस्तो घटना कहिल्यै नहोस्’


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.4K
    SHARES

  • images
    १६ वर्ष अघिको त्यो भयानक दुर्घटना

    २०३६ सालको पुस पूर्णिमाको मेला हेर्न आउँदा भेरी नदीमा डुंगा दुर्घटना भयो। नौ जनाको भेरीमा हेलिएर मृत्यु भयो। त्यसको २४ वर्षपछि २०६४ पुस १० गते अर्को घटना भयो। 

    पूर्वी सुर्खेतको मेहलकुनामा शुभाघाट पूर्णिमाको मेला लागिरहेको थियो। सुर्खेत मात्रै होइन, छिमेकी जिल्लाहरुबाट पनि दर्शनार्थीको ठूलो भीड जम्मा भएको थियो। मेहलकुना र दहचौरलाई जोड्न भेरी नदीमाथि झोलुङ्गे पुल थियो। मेला हेर्न आएका दर्शनार्थीले पुल भरिभराउ थियो। त्यतिकैमा पुल चुँडियो। भेरी किनारमा मेला हेर्न आएका सयौं मानिसहरु नदीमा खसे। २४ जनाले ज्यान गुमाए, ५० बढी घाइते भए।

    सुर्खेतीहरु पुस १० लाई ‘कालो दिन’ का रुपमा सम्झन्छन्। दुई ठूला दुर्घटनामा परेर मृत्यु भएकाहरु ३३ जनाको सम्झनामा गायिका देवी घर्ती र प्रकाश क्षेत्रीले गीतमार्फत यसरी सम्झेका छन्।

    भाँचिएछन् मुनाहरु चुँडिएछन् फुल

    मान्छे मार्ने धराप भयो सुभाघाटको पुल

    मेला हेर्न आएका बेला घाइते भएका स्थानीय दीपक पुन मंसिर पूर्णिमा आउन थाल्यो कि यहीँ गीत सम्झन्छन्। ‘नदीको बगरमा मेला लागिरहेको थियो, झोलुङ्गे पुलबाट मसहित सयौं मानिसहरुले मेला हेरिरहेका थियौं,’ मंगलबारदेखि सुरु भएको सुभाघाट मेलालाई सम्झँदै पुनले भने, ‘लोड धान्न नसकेर होला पुल चुँडिएर नदीमा खसिहाल्यो।’ एकछिन अघिसम्मको मेलाको रमझम कोलाहलमा परिणत भयो। ‘साँच्चै पूर्णिमाको मेलाले १५ वर्षअघिको घटनालाई झलझली सम्झाउँछ,’ उनले भने, ‘अब त्यस्तो घटना कहिल्यै नहोस्।’

    झोलुङ्गे पुल चुँडिएकै ठाउँमा तत्कालै नयाँ पुल बन्यो। अहिले नजिकै पक्की पुल पनि सञ्चालनमा छ। ‘अब झोलुङ्गे पुल चुँडिएर कोही पनि भेरीमा बगेर मर्नुपर्ने छैन,’ उनले भने, ‘पक्की पुलले १६ वर्षअघि झोलुङ्गे पुल चुँडिएर मृत्यु भएकाहरुको आत्माले शान्ति पाएको अनुभूति हुन्छ।’

    पुल दुर्घटनामा गुर्भाकोटको गुमीका १०, दहचौरका ९, घुमखहरेका २, बाँके, धारापानी र काप्रीचौरका १–१ ले ज्यान गुमाएका थिए।

    भेरी किनारमा हरेक वर्ष तीन दिनसम्म शुभाघाट मेला लाग्छ। मेला भर्न सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया र दैलेखबाट दर्शनार्थी आउँछन्। दुर्घटनाका केही वर्षसम्म यहाँ दर्शनार्थी आउन पनि डराउँथे। अहिले अवस्था फेरिएको छ।

    ‘अहिले भेरी किनारलाई दुबैतर्फ तटबन्ध गरिएको छ, भेरी नदीमाथि पक्की पुल सञ्चालनमा आएको छ,’ गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले भने, ‘अघिल्लो वर्षदेखि मेलामा पुरानौं रौकन देख्न पाइएको छ।’

    उनले १६ वर्षअघिको घटनाले बारम्बार पिरोल्ने गरेको सुनाए। ‘पुलले धान्ने भन्दा धेरै मानिसहरुलाई जान नदिएको भए त्यो घटना सायद हुने थिएन,’ पुनले भने, ‘त्यहीँ घटनाको सम्झनामा पक्की पुल बनेको छ, अव त्यस्तो घटना कहिल्यै नहोस्।’

    मेलामा आउने भक्तजन मेला मात्रै भर्दैनन् सांस्कृतिक कार्यक्रम र किनमेलमा पनि सहभागी हुने अवसर पाउँछन्। मेलामा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहन्छ।

    ‘मेलामा आउनेले शुभाघाटको दर्शनसँगै किनमेल र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति पनि हेर्न पाउनुहुन्छ,’ मेला आयोजना गरेको गुर्भाकोट–८ का वडाध्यक्ष किरण विकले भने, ‘ ‘यो पटकको मेला एक लाख बढीले अवलोकन गर्ने अपेक्षा लिएका छौं।’

    मृतकको सम्झनामा दीप प्रज्वलन

    २०३६ र २०६४ सालमा शुभाघाट मेला हेर्न आउँदा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

    डुंगा र झोलुङ्गे पुल दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा रक्षामन्त्री पूर्णबहादुर खड्का।

    दीप प्रज्वलन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले झोलुङ्गे पुल दुर्घटनास्थल नजिकै मृतकको सम्झनामा बनाइएको पक्की पुल उद्घाटनका बेला मृतकहरुको नाम राख्ने जानकारी दिए।

    ‘२०६४ सालमा झोलुङ्गे पुल दुर्घटना हुँदा घाइतेहरुको उद्धारमा आउँदा दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा पक्की पुल बनाउने घोषणा गरेको थिएँ,’ उपप्रधानमन्त्री खड्काले भने, ‘मृतकको सम्झनामा सबैको नाम लेखेर शिलालेख राख्नेछौं।’

    उपप्रधानमन्त्री खड्काले शुभाघाट मेला स्थानीय कला, संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण रहेको बताए। ‘एक आपसको सम्बन्ध, पारिवारिक, सामाजिक, सांस्कृतिक सम्बन्ध नवीकरण गर्नु यो महोत्सव–मेलाको विशेषता हो,’ उनले भने, ‘शान्तिपूर्ण तरिकाले भव्य रुपमा मेला–महोत्सव मनाउन आग्रह गर्दछु।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend