५ पुस २०८०, बिहीबार
काठमाडौँ– रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर कोट च्यारीगाउँ खोला नजिकै घुम्ती सडकमा मोड्न खोज्दा गएराति साढे १० बजेको समयमा दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ । दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। घाइतेहरूको नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा गएराति नै उद्धार गरिएको छ।
घाइते हुनेमा आठबीसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं १० का ३८ वर्षीय रमेश सार्की, वडा नं ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । उपचाररत घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।


