काठमाडौं । अपाङ्गतासम्बन्धी नीति चाँडै लागू गर्ने भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले प्रतिबद्धता जनाएका छन् । आज काठमाडौंमा आयोजित ३२औँ अपाङ्गता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उक्त नीति सामाजिक समितिबाट व्यापक छलफल भई पारित भइसकेको जानकारी दिँदै सकेसम्म चाँडै पारित गरी लागू गर्ने प्रतिबद्धता मन्त्री ज्वालाले जनाए । उनले भने, ‘अपाङ्गता सम्बन्धी नीतिमा थप सुधार गरेर परिपक्व बनाउन सामाजिक समितिमा छलफलको लागि पठाइएको थियो, व्यापक छलफलपछि समितिबाट पारित भइसकेको छ । प्रधानमन्त्रीज्यू आएपछि क्याविनेटको बैठकबाट यो नीति छिटोभन्दा छिटो पारित गर्नुपर्छ भन्ने धारणा बनेको छ । त्यसलाई लागू गर्ने प्रतिबद्धता जनाउँछु ।’
उनले दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने राष्ट्रिय लक्ष्यमा सरकार नडगमगाउने दाबी गरे ।मन्त्री ज्वालाले अपाङ्गता भएकाहरुको सवालका मुद्दाहरु र अधिकार प्राप्तिका विषयहरु जति सम्बोधन हुनुपर्ने त्यति सम्बोधन नभएको स्वीकार गरे ।


