गोरखा, १५ मङ्सिर - गोरखामा स्थानीय स्तरमा उत्पादित दूधले बजार पाउन समस्या भएको छ । सदरमुकाम सहित मुख्यबजार क्षेत्रहरुमा अन्य जिल्लाबाट दुध आयात हुने गरेकाले स्थानीय दुग्ध उत्पादक किसानहरुले उत्पादन गर्दै आएको दूधले भने बजार पाउन नसकेपछि खेर फाल्नु पर्ने अवस्थामा पुगेको गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्म प्रा.लिका सञ्चालक भीमसेन बस्नेतले बताउनुभयो ।
दैनिक रुपमा चारसय लिटर दूध उत्पादन गर्दै आएको उक्त फार्मले प्रत्येक दिन आधाजसो दूध बिक्री नभएपछि गाईलाई खुवाउनु पर्ने अवस्था रहेको छ । ‘‘सदरमुकाम सहित मुख्यबजारमा बाहिर जिल्लाबाट दूध आयात हुन्छ, सञ्चालक बस्नेतले भन्नुभयो, ‘‘तर हामी स्थानीय किसानले उत्पादन गरेको दुध बिक्री नभएपछि दूध गाईलाई खुवाउनु परेको छ ।’’

फार्ममा उत्पादित दूध गोरखा बजार क्षेत्रमा घरघरमा पु¥याएर दैनिक दुईसय लिटर जति बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । ‘‘यसअघि जिल्लामा बिक्री नभएको दूध पोखरामा रहेको डेरीमा पठाउने गरिएको भएपनि डेरी पैसा नदिएपछि अहिले दूध पठाउन बन्द गर्नुपरेको छ, बस्नेतले भन्नुभयो, ‘‘स्थानीय बजारमा पनि पुरै उत्पादन बिक्री नभएपछि कि गाईलाई खुवाउनु पर्ने अवस्था छ कि फयाक्नुपर्ने अवस्था छ ।’’गोरखा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा सञ्चालित दिवाखाजा कार्यक्रममा फार्मबाट मासिक दुईहजार लिटर दूध बिक्री हुने गरेको छ । उत्पादित दूधले बजारमा पाए मासिक साढे दुई लाख रुपैयाभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । ‘‘दैनिक चारसय लिटर दूध राम्रोसंग बिक्री भए दैनिक २६ हजार रुपैयाको कारोवार हुन्छ, बस्नेतले भन्नुभयो, ‘‘त्यसबाट खर्च कटाएर दिनकै ८ हजार रुपैयाभन्दा बढी बचत हुँदा राम्रो आम्दानी हुन्छ ।’’
बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुने बित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको छ । फर्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । अहिले दुहुना वाहेक पनि ५४ वटा कोरली गाईन व्याउने रहेको बस्नेतले बताउनुभयो । ‘‘सवै गाई व्याएसंगै अब दैनिक करिब एकहजार दूध उत्पादन हुन्छ, उहाँले भन्नुभयो, ‘‘तर कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको छ ।’’
यि दुई जातका गाईका लागि यस क्षेत्रको हावापानी सुहाउदो रहेको र दूध बाक्ले र बढी पोषिलो बस्नेतले जानकारी दिनुभयो । ‘‘गाई फर्मका लागि घाँस मात्रै १ सय ४० रोपनी क्षेत्रफलमा लगाइएको छ, किसान बस्नेतले भन्नुभयो, ‘बाँकी रहेको क्षेत्रफलमा पनि घाँस खेती गर्ने तयारी रहेको छ ।’’ फार्ममा ७ जनालाई नियमित रोजगारी समेत पाएका छन् ।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि नगरपालिका आवश्यक पहल गरिरहेको बताउनुभयो । ‘‘नगरपालिकाले प्राविधिक र आर्थिक हिसावले आफै कोल्डचेन सञ्चालन गर्ने अबस्था छैन, उहाँले भन्नुभयो, ‘‘स्थानीय बजारमा खपत गराउनका लागि व्यवस्थित डेरी उद्योग सञ्चालन गर्न सकिन्छ कि भनेर परामर्स गरिरहेका छौ ।’’
उहाँले स्थानीय उत्पादनमा जोड दिन नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याउन लागेको समेत बताउनुभयो । ‘‘स्थानीय किसानले उत्पादन गरेको दूध खेर जाने र उपभोक्ताले बाहिरबाट आयात गरेर ल्याएको दुध उपभोग गर्नुपर्ने अबस्था राम्रो होइन, उहाँले भन्नुभयो, ‘यसमा व्यवस्थापन मुख्य समस्याको यसको समाधानका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्छ ।’’


