भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र पुगेका छन्।
कैलाश पर्वतको दर्शन गर्न मोदी अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पुगेका हुन्। यसबारे भारतीय पक्षले नेपाललाई कुनै औपचारिक जानकारी गराएको छैन।
भारतले प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक जानकारी नदिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्। हेलिकप्टरबाट मोदी साढे ८ बजे अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङकोङ उत्रिएका थिए। मोदीले जोलिङकोङमा पूजापाठ र कैलाश पर्वतको दर्शन गर्नेछन्।
कैलाश दर्शनपछि चुच्चे नक्सामा समेटिएको नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङ गाउँवासीसँग सामान्य छलफल गर्ने कार्यक्रम छ।
मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपी), सशस्त्र सीमा बल (एसएसबी) र अन्य सुरक्षा निकायका अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि छ। भारतीय सञ्चारमाध्यमका अनुसार मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्रमा छन्। भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ।
नेपालको अनुमतिबिनै त्यस क्षेत्रमा भारतले सडक, बंकर, ब्यारेकलगायत सामरिक योजनाअन्तर्गतका पूर्वाधार पनि बनाइरहेको छ। भारतको राजधानी नयाँ दिल्लीबाट तिब्बतको मानसरोवर जाने सबैभन्दा छोटो दूरीको बाटो यही क्षेत्रमा पर्छ।


