गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२, राक्सेमा चट्टानसहितको सुक्खा पहिरो खसेपछि बुधबार (कात्तिक २५) रातिदेखि त्यहाँ बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा टोली अहिले पहिरो गएको स्थानमा खटिइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा थुप्रिएको पहिरो हटाउनका निम्ति कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा पहल भइरहेको गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी, पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्रु रातिदेखि बीचबाटोमै रोकिएका छन् । कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त बाटोमध्ये पर्छ । रासस

