काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी आज बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । ती तीन जनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र ३ वर्षीय सुदन यादव रहेका छन् ।
मुकेश यादवको टाउको र ढाडमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ । त्यसैगरी, सक्षमकुमार यादवको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको छ । सुदन यादवको टाउको र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले उद्धार जारी राखेको छ ।

