२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन


सञ्चार डबली
  • शनिबार, जेठ २६ २०८१
  • 7.3K
    SHARES

  • images
    सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन

    काठमाडौँ, जेठ २६ । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताएका हुन् ।

    मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि विभिन्न क्षेत्रमा आधारभूत उपलब्धि हासिल भएको जनाउँदै अर्थमन्त्री पुनले अब ती उपलब्धिको गुणात्मक विकास गरिने बताए । गणतन्त्रपछि मुलुकमा केही भएन भन्ने नकारात्मक भाष्य चिर्दै सरकार अघि बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भने, 'बजेटमार्फत जनतामा आशा जगाउँदै देशभित्र वा बाहिर जहाँ भए पनि राष्ट्र निर्माण योगदान दिन सक्छौँ भन्ने सोच विकास गर्न खोजिएको छ ।'

    आगामी आर्थिक वर्षमा एक लाख रिटर्नीलाई पुनःस्थापना गर्ने योजना अघि सारिएको जानकारी दिँदै अर्थमन्त्री पुनले विदेशबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई स्वदेशमै प्रयोग गर्ने वातावरण बनाइएको बताए । मन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रबर्धनलाई प्रमुख पाँच रुपान्तरणकारी क्षेत्र घोषणा गरी विशेष योजना अघि सारिएको जानकारी दिए ।

    'कृषिको रुपान्तरणलाई पहिलो प्राथमिकता दिइएको छ । विद्युत् उत्पादन गरी आन्तरिक खपत बढाउने तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना राखिएको छ,' अर्थमन्त्री पुनले भने, 'विदेशी पर्यटक भित्रयाएर आर्थिक समृद्धिमा फड्को मार्न सकिन्छ ।'0

    आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री पुनले १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र १५ लाख रोजगारी सिर्जना गरिने दाबी गरे ।

    राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका विभिन्न कार्यक्रमबाट लाभ लिन आग्रह गरेका थिए । परिषद्ले रिटर्नी युवालाई लक्षित गरी उद्यमशीलतासम्बन्धी तथा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

    सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले वैदेशिक रोजगारबाट श्रम, सीप र पुँजीसहित स्वदेश फर्केका युवालाई एकताबद्ध गर्दै स्वदेशमै उद्यमशीलता विकासमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले रिटर्नी युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend