काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्रयाक’ खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ । रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
हाल जोखिमयुक्त स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ भने ती स्थानमा छिट्टै दुईतर्फी नै खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ । सडक खुलाउने सोमबार बिहानदेखि अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाउने काम थालिएको थियो ।


