काठमाडौँ, जेठ २० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतको तर्फबाट नेपालमा लगानीको लागि अनुरोध गरेका छन् ।
उनले बेलायती राजदूतलाई दुई देश बीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न पनि आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठ वटा लगानी ऐन परिमार्जन गरेको भन्दै नेपालमा जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए ।
नेपालका लागि बेलायती राजदूत रोब फेनसँग भएको भेटमा अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराउँदै नेपाल र बेलायत बीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गरे । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने उनको भनाइ थियो ।
निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराएका थिए । उनले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए ।
उक्त अवसरमा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले दोहोरो करमुक्ति सम्झौता बारे पनि चासो राखेका थिए ।


