काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा संसद् बैठकको सुरुमा आज संक्षिप्त मन्तव्य राख्दै सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझाव आत्मसाथ गर्दै संसद् अधिवेशनलाई नतिजामुखी बनाउनु पर्ने बताए।
संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसदीय प्रणालीप्रतिको विश्वास र भरोसा वृद्धि हुने उनको भनाइ थियो। लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताउँदै उनले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरे।
ुविधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ। संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं । संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं। उनले भने।
संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने रहेको उनले बताए ।संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो।


