२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नवरात्रमा कुन दिन कुन देवीको पुजा गर्ने ?


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 11.6K
    SHARES

  • images
    नवरात्रमा कुन दिन कुन देवीको पुजा गर्ने ?


    काठमाडौं, २८ असोज ।नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि  हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ काम र मोक्ष प्रदायक हुने कुरा देवीभागवतमा बताइएको छ ।

    आषाढशुक्ल आश्विनशुक्ल माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछ । यी चार नवरात्रहरूमा आषाढशुक्ल र माघशुक्लपक्षका तिथिहरुलाई गुप्तनवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्रशुक्ल र आश्विनशुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । विशेषगरी आश्विन शुक्ल पक्षमा पर्ने  शारदीय नवरात्त्रको शास्त्रमा अधिक महत्व बताईएको छ । यस बर्ष साउन महिनामा मलमास परेकाले ढिलागरि २८ असोज आजबाट नवरात्र प्रारम्भ भएको छ । 

    पञ्चाङ्ग निर्णायक  विकास समितिले सार्वजनिक गरेको मुहूर्र्तमा घटस्थापनादेखि देवी विर्जन गर्ने दिनसम्मको साइत समेत सार्वजनिक  गरिसकेको  छ । घटस्थापनाको लागि आश्विन २८ गते आइबार  बिहान ११ः२९ बजेको समयमा घटस्थापनाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी गराएको छ । आइतबार  चित्रा नक्षत्र र वैधृति योग परेकाले शुभ साइतका लागि शुभ मुहूर्र्त लिनुपर्ने हुँदा  ढिलागरी मुहूर्र्त निस्किएको हो । चित्रा नक्षत्र र वैधृति योगको वैदिक विधिअनुसार शान्ति गरी घटस्थापना गर्नु उत्तम मानिएको छ ।

     कात्तिक ७ गते मंगलबार  देवी विसर्जनको लागि बिहान १० बजेर ३७ मिनेट र टीका प्रसाद ग्रहण गर्नका लागि ११ बजेर २ मिनेटको समय उत्तम रहेको जानकारी गराईएको छ । साइतमा टीका चढाएपछि दिनभरि नै टीका लगाउन सकिने उल्लेख गरिएको छ । टिका लगाउदा पश्चिम मोहडा  अर्थात पश्चिम फर्केर लगाउने चन्द्रमा शुभ रहने छन् ।

    नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानी पूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ ।  यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ  ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ । नौ दिनसम्म  शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

    नौ दिनसम्म कुन कुन दिन कसको र के के सामग्री अर्पण गरी पूजा आराधना गर्ने र  षेडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजा पुजा गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नुपर्ने नियम रहेको छ  ।   

    पहिलो दिन 
    यदि लामो आयु र कुनै प्रकारको दीर्घ रोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ । 

    दोस्रो दिन 
    कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ । 

    तेस्रो दिन 
    दुःख कष्टबाट मुक्तिका लागि गाइको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ । 

    चौथो दिन 
    चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ । 

    पाँचौँ दिन 
    पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यपार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यसदिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ । 

    छैटौँ दिन 
    आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ । 

    सातौँ दिन 
    कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ । 

    आठौँ दिन
    महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ। उक्तदिन  महागौरीको पूजा आराधना गरेमा सन्तानसुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

    नवौँ दिन 
    घटस्थापनाको नवौँ दिन अर्थात् नवमीका तिथिका दिन घ्यू चढाएर पूजा आराधना गरेमा अकालमृत्युबाट बच्नको लागि र कुनैपनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्नका लागि सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ ।  

    यसरी स्थापना गरिएका सप्तधान्य क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुने भन्ने धार्मिक मान्यता रहेको छ । सप्तधान्य अङ्कुर दुर्गादेवीको प्रिय भएकाले सप्तधान्य रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend