काठमाडौं– कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो ।
तीन व्यवसायीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ को जेठमा अधिकारीलगायतविरुद्ध ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । तीमध्ये अदालतले दुईवटामा पूर्ण ठहर, दुईवटामा आंशिक ठहर र दुईवटामा सफाइको फैसला गरेको छ । यस मुद्दाका प्रतिवादीहरू सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमले भने सफाइ पाएका छन् ।


