काठमाडौं, २७ असोज । सरकारी विद्यालयमा दुर्घटनामा परेका विद्यार्थीको सहयोगको लागि सरकारले विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बताएका छन् । उनले विद्यालयमा विद्यार्थीलाई दुर्घटनामा परी घाइते र अंगभंग भए उपचारको व्यवस्था मिलाउन सरकारले विद्यालयहरुमा विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने बताए ।
‘विद्यालयमा विद्यार्थीहरु लड्ने वा चोटपटक लाग्ने सम्भावना हुन्छ । विद्यालयभित्रै पनि दुघर्टनामा परेर जीवनभर अपांगता भएको कयौं उदाहरणहरु हामीले देखेका छौं । त्यसैले विद्यालयमा विद्यार्थीहरुलाई दुर्घटनामा पर्दा सहयोग गर्नको लागि विद्यार्थी कल्याण कोष स्थापना गरिनुपर्छ ।’
संसदमा संशोधनको लागि लगिएको शिक्षा विधेयक संशोधन गर्दा सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि समाजवाद र लोकतान्त्रीक शिक्षाको प्रावधान उक्त विधेयकभित्र देखिनुपर्ने उनको भनाई छ ।


