काठमाडौं । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । उनी राप्रपाका नेता तथा नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर ९पीएसओ० असई लक्ष्मण चौधरीकी पत्नी हुन् ।
गोली लागेर घाइते अवस्थामा भेटिएकी शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको हो। शर्मिला यही असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेरा (कोठा)मा कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन्। प्रहरी बृत्त महाराजगञ्जको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।
शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो ।
शर्मिलालाई गोली लागेको समयमा असई चौधरी भने घरमा थिएनन्। असई चौधरी गोली लोड भएको पेस्तोल लोडेड अवस्थामै राखेर चौधरी बाहिर निस्केको र चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो। घटनाबारे विस्तृत अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ।


