१७ असोज, काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।
दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभयो ।
अविवाहित दिलमायाले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनले नेपाली भाषाका एक सय ५० भन्दा बढी गीतहरु गाएकी छन् ।


