२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राजनीतिक परिवर्तनमा कर्मचारीको भूमिका प्रशंसायोग्य : प्रधानमन्त्री प्रचण्ड


सञ्चार डबली
  • शुक्रबार, भदौ २२ २०८०
  • 8.4K
    SHARES

  • images
    राजनीतिक परिवर्तनमा कर्मचारीको भूमिका प्रशंसायोग्य  : प्रधानमन्त्री प्रचण्ड

    २२ भाद्र २०८०, शुक्रबार  

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा राष्ट्रहितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्यायसहितको समुन्नतिले गति लिने बताएका छन् ।

    निजामती सेवा दिवसको विशेष समारोहमा बोल्दै उनले मुलुकको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण, सेवा प्रवाह र संक्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्‍याएको योगदानको तारिफ गरेका हुन् । ठूला राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको भूमिकाको प्रशंसा गरेका छन् । 

    २०औँ निजामती दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस विशेष दिनमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी र राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीहरुमा मन, वचन र कर्मले संघीय प्रशासनको कार्यान्वयन गर्दै देश र जनताको सेवामा अविचलित काम गर्न प्रेरणा मिलोस् भन्ने  कामना गरेका छन् ।

    प्रधानमन्त्री दाहालले निजामती कर्मचारीहरु लोकसेवा आयोगबाट छनौट भई जनतालाई आफ्नो कार्यशैलीबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान छन् त्यति नै विश्वसनीयता कामय गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रको दर्पणको रुपमा राष्ट्रिय समृद्धिको सपना पूरा हुन सक्ने उल्लेख गरे ।

    उनले राज्यमा संघीय शासन प्रणाली कार्यान्वयनको महत्वपूर्ण औजारको रुपमा रहेको संघीय निजामती सेवा ऐन यथाशक्य जारी होस् भन्ने सबैको भावना र मर्मअनुसार सरकारले सो विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी छिट्टै संसदमा दर्ता गर्न लागिएको जानकारी गराएका छन् ।

    उनले निजामती प्रशासनमा देखिएका कानूनी, संरचनागत तथा कार्यगत समस्या समयमै समाधान गर्दै समयसापेक्ष व्यवहारिक नेतृत्वबाट चुस्तदुरुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको उल्लेख गरेका छन् ।

    दिवसका अवसरमा सेवामा महत्वपूर्ण योगदान दिई आज पुरस्कृत हुने सबै कर्मचारीलाई बधाइ समेत दिएका छन् । व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २०औँ निजामती सेवा दिवस मनाइँदै छ ।


     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend