काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारलाई अब शंकाको लाभ नदिने बताएका छन् ।
आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले सरकार बनेको ७-८ महिना नयाँ भनेर शंकाको लाभ दिएको भएपनि अब नदिने स्पष्ट गरे ।
उनले सम्बेदनशील विषयमा भइरहेका अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह गर्दै अनुसन्धानमा सेलेक्टिभ नहुन चेतावनी दिए ।
उनले नागरिकले मात्रै नभई सरकारले पनि कानुनको पालना गर्नुपर्ने बताए । उनले विचौलियासम्बन्धी विषय बाहिर आएको उल्लेख गर्दै उनले त्यसको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने र जो–जो संलग्न छन्,उनीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
उनले भने- 'यसको गहिराइसम्म अनुसन्धान होस्। जो–जो संलग्न हुन्छन्,दोषीमाथि कारबाही होस् । यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ ।'
सभापति थापाले अहिले उठिरहेका विषयमा आफुहरुले विभिन्न राजनीतिक दल, नागरिक समाज र युवाहरुसँग छलफल अगाडी बढाउने बताए ।

