कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा नाफामा १.७ प्रतिशतको वृद्धि देखिएको छ।
सञ्चालन आम्दानीमा भएको विस्तार, जोखिम व्यवस्थापन र कर्जा असुलीमा आएको सुधारले बैंकको नाफा वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ८८ करोड २३ लाख रुपैयाँ कायम भएको छ। बैंकको कुल सञ्चालन आम्दानी गत वर्षको ४ अर्ब २१ कराेड रुपैयाँबाट घटेर ३ अर्ब ६७ कराेड रुपैयाँमा सीमित भएकाे छ। यसै अवधिमा सम्भावित कर्जा नोक्सानी व्यवस्थापन गत वर्षको १ अर्ब २६ कराेड रुपैयाँबाट घटेर ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएपछि बैंकको खुद सञ्चालन नाफा बढेर ३ अर्ब २२ कराेड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ८८ कराेड रुपैयाँ रहेको छ।
बैंकको वित्तीय विवरणमा सबैभन्दा उत्साहजनक पक्ष लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने वितरणयोग्य नाफामा आएको सकारात्मक मोड हो। गत वर्षको सोही अवधिमा बैंकको कुल वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँले ऋणात्मक (घाटामा) रहेकोमा समीक्षा अवधिमा भारी सुधार भई १४ करोड ७१ लाख रुपैयाँ धनात्मक बनेको छ। यसले बैंक विगतको नोक्सानी र प्रोभिजनिङको भारबाट बाहिर निस्कँदै शेयरधनीहरूलाई लाभांश बाँड्न सक्ने क्षमतामा पुनः फर्किएको स्पष्ट सङ्केत गर्छ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष र सञ्चित नाफा गरी १८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। बैंकको कुल निक्षेप संकलन ४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने ग्राहक कर्जा प्रवाह २ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ।
बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा कायम भएको छ।
| Particulars | 083-084 (Q1) | 082-083 (Q4) | 082-083 (Q3) | 082-083 (Q1) | YoY Growth |
|---|---|---|---|---|---|
| Paid Up | 26,225,861.34 | 26,225,861.34 | 26,225,861.34 | 26,225,861.34 | - |
| Reserve | 18,963,227.90 | 18,568,209.82 | 15,348,934.58 | 11,857,086.59 | - |
| Net Interest Income | 2,091,282.68 | 12,013,083.60 | 9,302,222.93 | 2,912,050.99 | -28.19% |
| Operating Income | 3,672,015.63 | 16,358,432.25 | 12,813,075.71 | 4,215,313.75 | -12.89% |
| Profit Before Provision | 2,335,279.91 | 9,795,560.85 | 8,071,866.40 | 2,688,142.87 | -13.13% |
| Operating Profit | 1,885,325.49 | 11,235,525.91 | 6,504,963.63 | 1,424,035.79 | 32.39% |
| Net Profit | 1,074,505.92 | 7,387,197.90 | 4,178,048.41 | 1,056,531.15 | 1.70% |
| Distributable Profit | 147,188.50 | 791,661.68 | -1,989,509.17 | -3,919,920.20 | 103.75% |

