काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आकर्षक वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २ हजार ६ सय ९५.६० बिन्दुमा पुगेको छ । पछिल्लो तीन दिन नेप्से परिसूचक निरन्तर बढेको छ । आज कारोबारमा आएका १ सय ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।
बिहीबार सबैभन्दा धेरै कामउनेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ ।

