काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ९० औं वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष सुविधासहितको ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले न्यून ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कसहित ल्याएको यो योजना ९० दिनसम्म सञ्चालन हुनेछ ।
योजनाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन्। बैंकका अनुसार यो कर्जाको ब्याजदर आधार दरमा ०.५ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ । कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लाग्नेछ ।
बैंकले आवास कर्जा लिने ग्राहकलाई थप सुविधासमेत उपलब्ध गराउने जनाएको छ। योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा पाउनेछन्। त्यसैगरी, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।
यो योजना २०८३ कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म अर्थात् ९० दिनका लागि लागू हुनेछ। नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते आफ्नो स्थापनाको ९० औं वर्षमा प्रवेश गर्दैछ ।
नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभर २३१ शाखा, २५० एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र युवा जनशक्तिमार्फत छिटोछरितो तथा गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै आएको जनाएको छ । ग्राहक सेवामा सुधार र प्रविधिमैत्री बैंकिङ सुविधाको विस्तारसँगै बैंकप्रति ग्राहकको आकर्षण बढ्दै गएको बैंकको भनाइ छ ।

