काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज शुक्रबारदेखि तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि अचानक भारत प्रस्थान गर्ने भएका छन् ।
लामिछानेको निजी सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे औपचारिक जानकारी दिएको हो। सचिवालयका अनुसार यो भ्रमण विशुद्ध आध्यात्मिक तथा पारिवारिक तीर्थाटनका रूपमा तय गरिएको छ ।
भ्रमण तालिका अनुसार सभापति लामिछाने धनगढीको बाटो हुँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रसिद्ध बाबा नीम करौलीको ‘कैँची धाम’ र आसामको गुवाहाटीस्थित प्रसिद्ध शक्तिपीठ ‘कामाख्या मन्दिर’ मा पुगेर पूजाअर्चना गर्ने कार्यसूची छ ।
अचानक तय भएको यो तीन दिने धार्मिक भ्रमण सम्पन्न गरी उनी आईतबार स्वदेश फर्किनेछन् । यसअघि उनी गत जेठ २२ गते भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएका थिए ।

