काठमाडौँ । विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ । रातो टीका र पहेँलो जमरा सिउरिएर मान्यजनबाट शुभ आशीर्वाद लिन नेपालीहरू टाढा-टाढासम्म यात्रा गरिरहेका छन् ।
बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने विशेष परम्परा रहे पनि टाढा-डाढा रहेका माइती, मावली तथा आफन्तकहाँ एकै दिन पुग्न सम्भव हुँदैन। त्यसैले विजयादशमीपछिका दिनहरूमा पनि टीका लगाउने चलन रहँदै आएको छ ।
दशैँको टीका लगाउने यो क्रम विजयादशमीदेखि सुरु भई कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्छ। विजयादशमीका दिन टीका थाप्न नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू यतिबेला मान्यजनकोमा पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्।

