काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६ सय ४७.२२ को बिन्दुमा आएको छ । बिहीबार पनि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो । आज कारोबारमा आएकामध्ये १ सय ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ ।
शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि आकर्षक वृद्धि भएको छ । आज ६ अर्ब ७२ करोड ८१ लाख ३१ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बिहीबार ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकको सेयर मूल्य १४.९२ प्रतिशतले बढेर ४ सय ९३ रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा हथवे इन्भेष्टमेन्टका लगानीकर्ता रहेका छन् । यसमा नकारात्मक सर्किट लागेको छ ।


