बिहीबार, मंसिर ७, २०८०
काठमाडौँ– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् ।
माइतीघरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि दुवै समूहको कार्यक्रम छुट्टाछुट्टै स्थानमा हुनेछ । प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ । प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।
जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।


