काठमाडौँ । अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेसीशहर–चामे सडकखण्डअन्तर्गत बेसीशहर–चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु गरिएको छ ।
तिमाङदेखि कोतोसम्म सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाउने काम भइरहेको र सडक अवरुद्ध भएका अन्य स्थानमा पनि यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, फापरखेतमा स्थानीयको जग्गा कटिङ गर्नुपर्ने तथा क्षतिपूर्तिसम्बन्धी समस्या पालिका र जिल्ला प्रशासनसँगको समन्वयमा समाधान गरिएको छ ।
अर्कोतर्फ, खोत्रोमा पूर्ण रूपमा क्षति पुगेको सडकखण्डमा पछाडिबाट कटिङ गरी टेवा पर्खाल निर्माणको काम भइरहेको र उक्त स्थानमा साँझसम्म यातायात सुचारु गर्ने लक्ष्य राखिएको छ ।
खोत्रोनजिकैको भीरमा थप सडक खोल्न नेपाली सेनासँगको समन्वयमा विस्फोट गराउने तयारी भइरहेको छ । यसैगरी, गरछापमा थुप्रिएको लेदो तथा पहिरो हटाउने काम जारी छ।
बाढीले बगाएका काठेपुल भएका स्थानमा डाइभर्सन निर्माण गरी आगामी शुक्रबारसम्म डुम्रे–बेसीशहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।


