गोरखा, २८ कात्तिक - गोरखाका नेवार समुदायले आज सांस्कृतिक झाँकी तथा ¥याली सहित नेपाल सम्वत ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन् । नयाँ बर्षको रुपमा नेवाः देय् दवु जिल्ला कार्य समिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकी सहितको ¥याली गरेर नेपाल सम्वत मनाइएको हो ।
गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको ¥याली ठुलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालीमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानिपोखरी परिसरमा पुगेर समापन गरिएको नेवाः देय् दवु गोरखाका अध्यक्ष देवीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
¥यालीपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरले इतिहास, भाषा, संंस्कृति र संस्कारसंग जोडिने भएकाले सवैजातजातीको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोडदिनुभयो ।
उहाँले भाषा हराए इतिहास र संस्कृति हराउने र कुनै जातजातिको संस्कृति हराए कुनै समय जातिय पहिचान हराउने भन्दै जाति विशेष पहिचान र संस्कृतिलाई जोगाइ राख्नुपर्ने बताउनुभयो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको सुरुवात गराउनु भएसंगै नेपाल सम्वत मनाउने गरिएको हो ।
कार्यक्रमको अवसरमा आयोजित ¥यालीमा नेवार समुदायको पोशाकमा सजिएका युवायुवतीहरुले नेवार समुदायको पहिचान झल्कने धिमेबाजा प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष बिष्णुराना मगर र नेवाः देय् दवुका सल्लाहकार मोहनलाल श्रेष्ठले लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


