सञ्चार डबली
बुधबार, भदौ २०, २०८०
रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् ।
मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।
उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् । विजयी उम्मेदारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् ।
पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् । यो नेतृत्व छनौटका लागि पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल समूहले कँडेल र महासचिव शंकर पोखरेल समूहले रिजाललाई साथ दिएर प्यानलगत उम्मेदवारी दिएर चुनावी मैदानमा गएका थिए ।


