२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकार विद्युतबाट अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.3K
    SHARES

  • images
    सरकार विद्युतबाट अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री

     

    काठमाडौ, ५ भदौ । वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारेका छन् ।

    उनले अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । उनले भने, “हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।”

    बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै उनले आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावनाबारे छलफल हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूहरुको जोड धेरैभन्दा धेरै विद्युत् स्वदेशमा खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ सरकारको जोड दिएको स्पष्ट पारेका छन् । उनले विद्युत् क्षेत्रको विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने भन्दै विगतको तुलनामा विद्युत्को उत्पादन बढेको बताएका छन् ।

    नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

    सबस्टेसन २०७७ साल असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत रु एक अर्ब ५२ करोड छ । हेटौँडा(भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । रु सात अर्ब ९४ करोड कूल लागतमा निर्माण भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

    हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

    दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend