२०८३, कात्तिक ३० गते

images
Logo

Nov 16 2026 | २०८३, कात्तिक ३० गते

images
  • सोमबार, कात्तिक ३० २०८३

‘कुमार बेन प्रकरणमा प्रधानमन्त्रीले लिने कदममा रास्वपाको समर्थन’


सञ्चार डबली
  • आइतबार, कात्तिक २९ २०८३
  • 2.5K
    SHARES

  • ‘कुमार बेन प्रकरणमा प्रधानमन्त्रीले लिने कदममा रास्वपाको समर्थन’

    सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा ‘बिचौलिया’ इनम सापकोटाको मोबाइल फोन लगिएको घटना सार्वजनिक भएपछि त्यसबारे पार्टीको धारणा माग्दा प्रवक्ता खरेलले यो विषय सरकारकै क्षेत्राधिकारभित्र पर्ने बताएका हुन् ।

    आइतबार (कात्तिक २९) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा प्रधानमन्त्री स्वयंले आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे । उनले सरकारका आन्तरिक काम–कारबाही र त्यसअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा राजनीतिक हस्तक्षेपको आरोप लाग्न सक्ने बताए ।

    “सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका विषयहरू सरकार र प्रधानमन्त्रीज्यूको कार्यक्षेत्रभित्र पर्ने भएकाले यसबारे आवश्यक निर्णय लिने जिम्मेवारी सरकारकै हो,” उनले भने, “पार्टीले सरकारका आन्तरिक काम–कारबाही र सरकारी निकायका विषयमा अनावश्यक हस्तक्षेप गर्नुभन्दा प्रधानमन्त्रीज्यूलाई नै आवश्यक निर्णय लिन दिनुपर्छ भन्ने हाम्रो बुझाइ छ ।”

    प्रमुख सल्लाहकारलाई छानबिनको दायरामा ल्याउन पार्टीले नै पहल गर्नुपर्ने हो कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रधानमन्त्रीले आवश्यक ठानेर कुनै पनि व्यक्तिबाट गलत काम भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाए रास्वपाको साथ रहने स्पष्ट पारे ।

    उनले प्रधानमन्त्रीले आवश्यक कदम चाल्न चाहेमा पार्टीले त्यसमा पूर्ण सहयोग गर्ने पनि बताए । उक्त विषय पार्टीमा औपचारिक रूपमा प्रवेश नगरेको जानकारी उनले जानकारी दिए ।

    “प्रधानमन्त्रीज्यूले कुनै विषयमा गल्ती भएको र आवश्यक कदम चाल्नुपर्ने महसुस गर्नुभयो भने उहाँले लिने निर्णयमा पार्टीको पूर्ण समर्थन र सहयोग रहनेछ,” उनले भने ।

    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेको र पार्टी सभापति छठ पर्व मनाउन तराईमा रहेकाले यस विषयमा औपचारिक छलफल हुन नसकेको उनको भनाइ थियो ।

    “यस विषयले पार्टीमा औपचारिक रूपमा प्रवेश पाइसकेको छैन । अहिले पार्टीको महामन्त्रीको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै छ भने पार्टी सभापति छठ पर्व मनाउन तराईमा हुनुहुन्छ,” उनले भने, “त्यसैले यस विषयमा पार्टीभन्दा पहिले सरकार र प्रधानमन्त्रीज्यूको धारणा तथा निर्णयलाई प्राथमिकता दिनुपर्छ ।”

    चीन भ्रमणमा जान लागेको रास्वपा प्रतिनिधिमण्डललाई बिदाइ गर्ने क्रममा सञ्चारकर्मीसँग प्रवक्ता खरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको विवादबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend