काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुका गतिविधिहरुले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरुले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन्। सोमवार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्तत्रा सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी पनि गरेका छन् । सरकारका यस्ता गतिविधिहरुले मुलुकको लोकतान्त्रिक व्यवस्थाको भविष्यमाथि समेत संकट उत्पन्न भएको उनको भनाइ छ । उनले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संगठन र सञ्चारमाध्यममाथि राज्यको नियन्त्रण बढ्दै गएको समेत बताएका छन् ।
उनले लोकतन्त्रको आधार संगठित हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएपनि पछिल्लो समय विद्यार्थी संगठनका गतिविधि प्रतिवन्धित गर्ने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संगठनलाई समेत गतिविधि नगर्न निर्देशन दिने काम भइरहेकोप्रति आपत्ति जनाएका छन्। उनले सरकार आफैँ वाह्य शक्तिहरुको खेलौना बनेको हो कि भन्ने आशंका मुलुकभित्र मात्र नभई मुलुकबाहिरका छिमेकीहरुमा समेत उत्पन्न भएको टिप्पणी गरेका छन् ।
भूराजनीतिक द्वन्द्वमा नेपाल सरकार र त्यसको नेतृत्व जुन हिसावले परिचालित भइरहेको छ त्यसले मुलुकको संवेदनशील भूराजनीतिलाई जोखिममा पारेको उनको भनाइ छ ।

