२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भूपदेव शाह रास्वपाको महामन्त्री चयन, को हुन् भूपदेव?


सञ्चार डबली
  • सोमबार, वैशाख ७ २०८३
  • 5.0K
    SHARES

  • images
    भूपदेव शाह रास्वपाको महामन्त्री चयन, को हुन् भूपदेव?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ। 

    सोमबार बसेको रास्वपा केन्द्रीय समितिले शाहलाई महामन्त्री चयन गरेको छ। केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउन प्रस्ताव गरिएको थियो। केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

    को हुन् भूपदेव? 

    अछामको सदरमुकाम रहेको मंगलसेन नगरपालिका-४ का भूपदेव प्रधानमन्त्री बालेन्द्र शाहलाई स्थापित बनाउन निर्णायक भूमिका खेलेका मुख्य व्यक्ति मानिन्छन्। भूपदेवका बुवा नृपबहादुर शाह २०४७ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीतिमा सक्रिय भए। उनी दुई पटक राप्रपाको जिल्ला अध्यक्ष बनेका थिए। 

    २०५५ सालपछि भूपदेवका बुवा नृपबहादुर कांग्रेसतिर लागेका थिए। राप्रपा छाडेर बुबाले कांग्रेस रोजे पनि भूपदेव भने वैकल्पिक राजनीतिको बाटोमा लागेका थिए।

    बुवाले वैकल्पिक राजनीतिमा भविष्य नदेखे पनि भूपदेवले परम्परागत राजनीतिमा समाधान नदेखेर २०७१ सालमा उज्जवल थापा नेतृत्वको तत्कालीन विवेकशील दलमार्फत वैकल्पिक राजनीतिको औपचारिक यात्रा सुरु गरेका थिए।

    मंगलसेन नगरपालिका-४ मा रहेको राधा माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका भूपदेवले मंगलसेनको दीपशिखा इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ र ५ पढेका थिए। त्यसपछि पढाइका लागि काठमाडौँको एलायन्स एकेडेमीमा भर्ना भए। 

    २०६३ सालमा काठमाडौँको एलायन्स एकेडेमीमा भूपदेव कक्षा ६ मा पढ्दा बालेन सोही विद्यालयमा कक्षा १० मा पढ्थे। उनीहरूको कक्षा फरक भए पनि अतिरिक्त क्रियाकलापले निकटता बढायो। सामाजिक अभियान र वैकल्पिक राजनीतिको खोजी बालेन र भूपदेवको साझा यात्रा बन्यो।

    २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र राजनीतिक बाटो रोज्दा भूपदेव मुख्य सारथी बने। बालेन काठमाडौँ महानगरपालिकाको मेयरको यात्रामा भूपदेवले सक्रिय भूमिका निर्वाह गरे। काठमाडौँ महानगरको मेयर पदको निर्वाचन अभियान सञ्चालन र स्थानीयस्तरबाट आएका सुझावको प्रतिक्रिया विश्लेषण भूपदेवले गर्थे। 

    बालेन मेयर बनेपछि भूपदेवलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिए। २०७९ जेठबाट २०८२ माघ ४ गतेसम्म प्रमुख स्वकीय सचिव बनेर सहयोग गरेका थिए।

    बालेन झापा-५ बाट उम्मेदवार बन्दा भूपदेवले गृहजिल्ला अछाम-२ रोजे। उनी प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए। अहिले रास्वपाले उनलाई महामन्त्री चयन गरेको हो।  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend