२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 वर्षाका कारण जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३ सय मेगावाट विद्युत् भारतबाट आयात


सञ्चार डबली
  • आइतबार, असोज १३ २०८१
  • 7.1K
    SHARES

  • images
     वर्षाका कारण जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३ सय मेगावाट विद्युत् भारतबाट आयात

    काठमाडौं । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । विगत दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

    यस्तै, रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली दुई जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ । प्रवक्ता घोषकानुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँचजना सम्पर्कविहीन छन् ।

    यस्तै, खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौँ आउने विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यसैगरी दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । उक्त प्रसारण लाइनअन्तर्गतको ५१ नम्बर टावर बाढीले बगाएको हो ।

    बाढीले सोलु करिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको प्रवक्ता घोषले बताए । नेपालमा उत्पादित विद्युत्गृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

    अधिकांश विद्युत् कम्पनीहरूले बाढी बढ्न थालेपछि विद्युत्गृहमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारेका छन् । यसअघि शुक्रबार राति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अविरल वर्षाका कारण ठूलो धनजनको क्षति हुनेतर्फ सचेत रहँदै खोलाको किनारामा बस्ने तथा पहिरोको वरपर बस्ने बासिन्दालाई सर्तक रहन आग्रह गरेका थिए ।

    उनले खोलामा निर्माण भइरहेका जलविद्युत् आयोजना तथा सिँचाइ आयोजनामा कार्यरत मजदुर, कर्मचारी तथा इन्जिनियर सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए ।

    नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकामा दुई दिनको बाढीपहिराले क्षति पुगेपछि अहिले एक हजार ३०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend