२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

निर्णय भएको दुई साता बितिसक्दा पनि खुलेन टिकटक, कहिले खुल्छ ? 


सञ्चार डबली
  • बिहीबार , भदौ २० २०८१
  • 8.9K
    SHARES

  • images
    निर्णय भएको दुई साता बितिसक्दा पनि खुलेन टिकटक, कहिले खुल्छ ? 


    काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्द हटाउने निर्णय गरेको दुई साता बितिसक्दा पनि अझै निर्वाध चलेको छैन। सरकारले निर्णय गरेर खुला गर्दा पनि किन टिकटक निर्वाध नचलेको भन्दै प्रयोगकर्ताले प्रश्न गर्दै आएका छन्।

    भीपीएन वा वैकल्पिक विधिको प्रयोगबाट बाहेक सामान्यतया टिकटक नचलेपछि टिकटक बाहिरका सामाजिक सञ्जालमा प्रश्न र चासो उत्पन्न भएको छ।

    मन्त्रिपरिषदले भदौ ६ गते टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। सरकारले निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली आफैले फेसबुकमा लेखेका थिए। लोकप्रिय भिडियो एपमाथिको प्रतिबन्ध हटाएर साहनुभूति बटुल्न सबै अग्रसर भएपनि अझै निर्वाध चलेको छैन।

    मन्त्रिपरिषदको निर्णय भएपनि अहिलेसम्म त्यसको कार्यान्वयन निकायसम्म कुनै पनि निर्देशन पुगेको छैन। कुनै पनि वेबसाइटमा प्रतिबन्ध वा खुकुलो पार्ने निर्णयको कार्यान्वयन गर्ने दूरसञ्चार प्राधिकरणमा अहिलेसम्म कुनै पनि निर्देशन वा पत्र नपुगेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

    ‘सरकारले निर्णय भएको सुनिएपनि औपचारिक रुपमा हामीलाई कुनै पनि जानकारी वा निर्देशन आएको छैन’ उनले भने। उनका अनुसार अहिलेसम्म पनि नेपालमा टिकटकमाथिको प्रतिबन्ध व्यवहारिक रुपमा खुलेको छैन।

    प्राधिकरणमै कुनै पत्र नआएपछि इन्टरनेट सेवाप्रदायकलाई झन जानकारी हुने कुरै भएन। अर्थात् अहिलेसम्म यसमा प्रगति भएको छैन।

    यस्तो हुनुका पछाडि सरकारको निर्णयको प्रकृति हो। सरकारले ससर्त प्रतिबन्ध खोल्ने निर्णय गरेको थियो। सरकारले राखेका चार सर्तहरु तीन महिनाभित्र कार्यान्वयन गर्न टिकटक तयार भएपछि उसमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको थियो।

    सरकारले अगाडि सारेको सर्तहरुमा टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने तोकिएको छ।

    यी सर्त पालना गर्न कम्पनीले प्रतिबद्धता गरेपछिमात्र प्रतिबन्ध खोलिने निर्णय भएको थियो। यही निर्णय अनुसार नै अहिलेसम्म कम्पनी प्रतिबद्ध भइसकेको छैन। आउँदो बुधबार कम्पनीले प्रतिबद्धता जनाउन आउने कार्यतालिका रहेको छ।

    कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा समय पनि लिइसकेको छ। उक्त दिन हुने छलफलमा कम्पनी प्रतिबद्ध भएपछि औपचारिक रुपमा प्रतिबन्ध खोल्ने काम हुने सञ्चार सचिव राधिका अर्यालले जानकारी दिइन्।

    ‘सरकारको निर्णयअनुसार नै प्रक्रिया पूरा नभएकाले अहिलेसम्म प्रतिबन्ध नखुलेको हो। निर्णय अनुसारका प्रक्रिया पूरा भएपछि खुल्छ, सायद बुधबार हुने छलफलपछि यसको प्रक्रिया अघि बढ्छ होला’ उनले भनिन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend