काठमाडौं, १ जेठ । अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन् । आज ५९औँ विद्यार्थी दिवसका अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै उनले वामपन्थी समाजवादी शक्तिले आफूलाई रुपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् ।
“हामीले समाजवादी विकल्प दिन सक्यौँ भने जनताको आशा अपेक्षा पूरा गर्न सकिन्छ । हिजोकै गाथा गाइरह्यौँ, वितगकै जस्तो व्यवहार देखाउन थाल्यौँ र सत्तामा गएर भ्रष्टीकरण भयौँ र तिनको प्रतिरक्षामा लाग्यौँ भने आगामी दिनमा जनताले हामीलाई नकार्ने छन्”, उनले भने ।
वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै उनले आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको आँकलन गरेका छन् । देखिएको बेथिती अन्त्य गर्न आफूहरुले राजनीतिक तवरमा छलफल गरिरहेका उनको भनाइ छ ।
“फेरि पनि हामीले आफूलाई रुपान्तरण गरेर अग्रगामी राननीतिक विकल्प दिन्छौँ । युवा विद्यार्थीले पनि भ्रष्टाचार, बेथिती, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायतका मुद्दा उठाएर नेतृत्व गर्नुपर्छ”, उनले भने । संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारीलगायत नागरिक अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको भए पनि अझै नागरिक मौलिक हक प्राप्त गर्नबाट वञ्चित भएको बताए ।
“संविधानमा शिक्षा मौलिक अधिकारका रुपमा राखिएको छ, विविध कारणले सबैलाई शिक्षा दिन सकिएको छैन । गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेको छैनन् । देशभित्रै सम्मानजक रोजगारी प्राप्त गर्ने अवसथा अझै भएको छैन”, पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने । ठूलो सङ्ख्या यो देशप्रति आफ्नो भविष्य देख्न छाडेर पलायन भइरहेको छ, रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि पनि लाइन लागिरहेको छ, यसका लागि विद्यार्थी सङ्गठनल घोत्लिएर सोच्नुपर्ने छ ।”


