२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 869
    SHARES

  • images
    ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

    काठमाडौँ / नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र रूपमा बढेको देखिएको हो ।

    विभागका अनुसार साउन र भदौमा ४ करोड ३७ लाख ८० हजार रुपैयाँ बराबरका १९ हजार ५०० थान इन्डक्सन चुल्हो आयात भएको छ । गत आवको सोही अवधिमा भने २ करोड ५७ लाख २९ हजार रुपैयाँका ११ हजार ६०० थान मात्रै इन्डक्सन आयात भएको थियो । यसले मूल्यका आधारमा करिब ७० प्रतिशत र परिमाणका आधारमा करिब ६८ प्रतिशत वृद्धि भएको देखाउँछ ।

    राइस कुकरको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवको पहिलो दुई महिनामा ६ करोड ६२ लाख रुपैयाँका ४७ हजार ४०० थान राइस कुकर आयात भएकोमा चालु आवको सोही अवधिमा ११ करोड ९० लाख रुपैयाँका ७३ हजार थान आयात भएको छ ।

    त्यसैगरी इन्फ्रारेड स्टोभको आयात सबैभन्दा तीव्र गतिमा बढेको देखिएको छ । गत आवको साउन–भदौमा २ करोड ४६ लाख रुपैयाँका १३ हजार ५०० थान आयात भएकोमा यस वर्ष सोही अवधिमा ८ करोड ७५ लाख रुपैयाँका ४१ हजारभन्दा बढी थान इन्फ्रारेड स्टोभ नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।

    गत वर्षको फागुन–चैतदेखि देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभावपछि उपभोक्ताहरू वैकल्पिक विद्युतीय उपकरणतर्फ आकर्षित भएकाले यस्ता उपकरणको आयात बढेको हुन सक्ने अनुमान गरिएको छ ।

    नेपालमा विद्युत् आपूर्तिमा सुधार र विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको प्रवृत्तिसँगै भान्सामा विद्युतीकरणको गति तीव्र बन्दै गएको संकेत पनि पछिल्लो आयात तथ्यांकले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend