काठमाडौं, ३ माघ । चालु आर्थिक वर्षको ६ महिनामा एकहजार ७०० भन्दा बढी ठगीका घटना प्रहरीको साइबर ब्युरोमा दर्ता भएका छन् । साइबर ब्युरोका अनुसार सबैभन्दा बढी ठगीका घटना ‘अनलाइन मार्केटप्लेस’ (अनलाइन सपिङ)बाट भएका छन् ।
दोस्रो नम्बरमा सामाजिक सञ्जाल ‘ह्याक’ ठगीका घटना छन् ।
यस्तै, गिफ्ट र पैसाको प्रलोभन देखाएर हुने ठगी र बैंक तथा वालेटको अफिसबाट बोलेको भनेर अकाउन्ट ह्याक गरेर हुने ठगी पनि बढ्दो छ ।
ब्युरोका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा एक हजार ७३६ घटनाबाट करिब दुई करोड ६४ लाख रुपैयाँ ठगी भएको छ ।
यी प्रलोभन देखाएर बढ्दै छ अनलाइन ठगी
साइबर ब्युरोका अनुसार अनलाइन सपिङबाट ठगी भएको भन्दै ४०३ घटना दर्ता भएका छन् । सामाजिक सञ्जालका अकाउन्ट ह्याक गरेर ठगी गरिएका ३७५ घटना ब्युरोमा दर्ता भएका छन् ।
सामाजिक सञ्जाल र आफ्नो अकाउन्ट सुरक्षित तरिकाले नचलाउँदा ह्याकिङ बढिरहेको ब्युरोका अधिकारी बताउँछन् । गिफ्ट तथा पैसा पठाएको भन्दै प्रलोभनमा पारी हुने ठगीसमेत बढ्दो छ । पछिल्ला ६ महिनामा ब्युरोमा यस्ता २४५ घटना दर्ता भएका छन् ।
बैंक तथा डिजिटल वालेटको अफिसबाट बोलेको भन्दै अकाउन्ट ह्याक गरेर हुने ठगीसमेत उच्च छ । ६ महिनामा यस्ता १४३ घटना ब्युरोमा दर्ता भएका छन् ।
मानिस अझै पनि गिफ्ट पठाएको, पैसा पाउने प्रलोभनमा पर्ने गरेका छन् । वालेट तथा बैंकको अफिसबाट बोलेको भन्दा ओटीपी कोडसमेत दिने गरेका कारण ठगी हुने गरेको ब्युरोले जनाएको छ ।
काठमाडौं उपत्यकामा कोठा र जब खोज्ने भनेर समेत ठगी हुने गरेको छ । यसरी ठगी भएका ३३ घटना ब्युरोमा दर्ता भएका छन् ।
भिडियो सेयर गर्ने एवं ब्ल्याकमेल गरेर ठगी भएका ३४ घटना दर्ता भएका छन् ।
यसबाहेक क्रिप्टाकरेन्सीमा लगानी गर्न भन्दै ८०, चिठ्ठा परेको भनेर ३० र गेमिङमा विभिन्न कोइन हाल्ने भनेर भएका ठगीका घटना ५५ दर्ता भएका छन् ।
रेन्समवेयर एवं मालवेयर आक्रमण गरेर भएको ठगीको एक घटनासमेत ब्युरोमा दर्ता भएको छ ।
सामाजिक सञ्जालमा फेक आईडीबाट भएका ठगीका ५५ र वैदेशिक रोजगारीका नाममा ठगी भएका ३३ घटना दर्ता भएका छन् ।
यसबाहेक विभिन्न किसिमले भएका थप २४४ ठगीका घटना छन् ।
सामाजिक सञ्जाल चलाउँदा सावधानी नअपनाएका कारण र मानिसहरू सजिलै प्रलोभनमा पर्दा बढीजसो ठगी हुने गरेको ब्युरोको भनाइ छ ।


