काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा अग्रज साहित्यकार तथा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमसँगको अन्तरक्रिया कार्यक्रम कोलोराडोको नेपाली सांस्कृतिक केन्द्र भवनमा सम्पन्न भएको छ ।
कार्यक्रममा अनेसासका केन्द्रीय सदस्य तारा अधिकारीले साहित्यकार जंगम र उनकी धर्मपत्नी इन्दिरा जंगमलाई खादा ओढाएर तथा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले फूल गुच्छा दिएर स्वागत गरेका थिए । अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष पदम विश्वकर्माले जंगमको साहित्यिक योगदान तथा उनको भ्रष्टाचार विरोधी अभियानको बारेमा चर्चा गर्नुका साथै अनेसासका पूर्व अध्यक्ष तथा गीतकार ज्ञानेन्द्र गदालले जंगमलाई अनेसास कोलोराडो शाखाले प्रदान गरेको सम्मान–पत्र हस्तान्तरण गरेका थिए । त्यस्तै गीतकार गदालले जंगमले गरेको कार्यहरूको विषयमा आफूले तयार पारेको गीतको वाचन समेत गरेका थिए ।
साहित्यकार जंगमले आफूद्वारा रचित तथा आफ्नो विषयमा लेखिएका थुप्रै पुस्तकहरू अनेसास कोलोराडो शाखालाई उपहार स्वरूप हस्तान्तरण गरेका थिए । कार्यक्रममा सदाचार दीप सम्मानको विषयमा वैकुण्ठ विक्रम थापाले प्रकाश पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा साहित्यकार जंगमले आफ्नो साहित्य सिर्जना तथा भ्रष्टाचार विरोधी अभियानको विविध पक्षको बारेमा चर्चा गर्नुका साथै आफ्नो भ्रष्टाचार विरोधी अभियानमा सहभागी बन्न कोलोराडोमा रहेका नेपालीहरूलाई पनि आग्रह गरेका छन् ।
कार्यक्रमको अन्तिम चरणमा दर्शकहरूसँग अन्तरक्रिया गर्ने क्रममा जंगमले दर्शक दीर्घाबाट सोधिएका विविध प्रश्नहरूको उत्तर दिएका थिए । यसरी प्रश्न राख्नेहरूमा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विकास त्रिपाठी, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, अनेसास कोलोराडो शाखाका सल्लाहकार वासुदेव खनाल तथा अनेसास कोलोराडो शाखा पूर्व अध्यक्ष भूपेन्द्र महत रहेका थिए ।
अनेसास कोलोराडोका महासचिव किरण अधिकारीले कार्यक्रमको संचालन र अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले सभापतित्व गरेका थिए । भव्य रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।


