२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बम्जनको दैनिकी : खाना आफै पकाउँछन्, टीभीमा रेस्लिङ हेर्छन्, ध्यान गर्ने ठाउँ पाएका छैनन् !


  • सोमबार, माघ १ २०८०
  • 9.5K
    SHARES

  • images
    बम्जनको दैनिकी : खाना आफै पकाउँछन्, टीभीमा रेस्लिङ हेर्छन्, ध्यान गर्ने ठाउँ पाएका छैनन् !

    काठमाडौं, १ माघ । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन हाल पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरीमा राखिएको छ ।  २४ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेर सर्लाही प्रहरीलाई बुझाएको थियो । 

    त्यसको भोलिपल्ट नै बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई थुनामा पठाएको थियो । सर्लाहीमा कारागार सञ्चालनमा नभएपछि प्रहरीले उनलाई महोत्तरी पठाएको जनाएको छ ।  पाँच दिनदेखि कारागारमा रहेका बम्जनले कारागारभित्र आफै खाना पकाएर खाने गरेका छन् ।

    महोत्तरी कारागारका जेलर रवीन्द्र चन्द्र ठाकुरले बम्जनले लसुन प्याज नखाने र सादा खानेकुरा मात्रै खाने हुँदा कारागारभित्र आफै पकाएर खाने गरेको बताए । हाल महोत्तरी कारागारभित्र ५९९ जना कैदी राखिएको छ । 

    कारागारका अन्य कैदीसरह उनलाई सातजना अट्ने गरेको हलभित्र राखिएको छ । उनी बस्ने कोठामा टीभीको व्यवस्थापन भने गरिएको छ ।

    उनी रेस्लिङदेखि अन्य खेलका गतिविधिहरु टेलिभिजनमा हेर्ने गर्छन् ।  बिहानको समय सामान्य ध्यानबाहेक अन्य योगध्यानको क्रियाकलाप भने उनले गर्न पाएका छैनन् ।

    उनीमाथि २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेशकुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ । 

    सोही उजुरीको आधारमा सीआईबीले काठमाडौंको बूढानीलकण्ठस्थित हात्तीगौंडाबाट उनलाई पक्राउ गरेको थियो ।  उनी पक्राउसँगै सीआईबीको टोली हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा उनको आश्रम सिन्धुपाल्चोक र बारामा जाने तयारीमा छ ।

    बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाडेगाँउको आश्रम र बाराको खुमजोर आश्रमबाट चारजना बेपत्ता पारिएको उजुरी छ । यसअघिसमेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद वस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन ।

    त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतको दाबी छ ।  सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमबारे समेत अनुसन्धान गर्ने बताउँदै आएको छ । 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend