शनिबार, पुस २८, २०८०
काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २५ जना घाइते भएका छन् । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ज ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती पुलबाट बस खसेको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य चलिरहेको छ ।
मृतक १२ मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये आठजनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


