शुक्रबार, वैशाख २२, २०८०
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परेका छैनन् । पक्राउका लागि उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नी रुपन्देहीमा रहेको भए पनि “पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले सञ्चारडबलीसित भने, “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो ।
सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।
केपी शर्मा ओली नेतृत्त्वमा रहेको तत्कालीन सरकारले नेपालमा छुटेका शरणार्थीको समस्या स्थायीरुपमा समाधान गर्न भन्दै कार्यदल गठन गरेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको नेतृत्त्वमा बनाइएको समितिमा बाहिरबाट पनि कार्यकर्ता राखेर नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने योजना बनाइएको थियो । पन्थी नेतृत्त्वको कार्यदलले काम गरिरहेका बेला झापा, मोरङ, सुनसरी, अर्घाखाँची, बाग्लुङ, गोरखालगायतका जिल्लाका गरी ८७५ जना युवाबाट १० देखि ५० लाखसम्म उठाएको पाइएको छ ।


