२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भक्तपुरका भ्यागुतालाई भोज (फोटो फिचर)


सञ्चार डबली
  • बिहीबार , भदौ १४ २०८०
  • 10.6K
    SHARES

  • images
    भक्तपुरका भ्यागुतालाई भोज (फोटो फिचर)

    काठमाडौं, १४ भदौ । भ्यागुताहरुलाई पनि भोज खुवाइयो भन्दा धेरैलाई अच्चम लाग्ला तर भक्तपुरमा बुधबार परम्परा अनुसार भ्यागुतालाई भोज खुवाइएको छ ।भक्तपुरका किसान आ–आफना खेतहरुमा पुगेर भ्यागुतालाई भोज खुवाएका छन । प्रत्येक वर्ष जनैपूर्णिको दिन यहाँं यस्तो चलन चल्ने गर्दछ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार भक्तपुरमा बुधबार जनैपूर्णिमा मनाइएको छ ।

    हातमा ठूल्ठूला पात राखी पातमाथि भोजका परिकार राखेर भोज खुवाउन किसान खेत पुगेका थिए । भोजमा थरीथरीका परिकार रहेका हुन्छन् । भोजमा खाना, रोटीसँगै मौसमी तरकारी क्वाँटी र बोडी पनि राखिएका हुन्छन् । खानाका परिकार मात्रै होइन, गोलाकार पारेर काटिएका मूलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको हुन्छ । यसलाई ऐनाको रुपमा बुझिन्छ । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यहीँ राखिएका हुन्छन् । छेवैमा धुवाँइरहेको धूपले सुगन्ध फैलाइ रहन्छ ।

    जनै पूर्णिमाका अवसरमा बुधबार सबेरै देखि मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने यिनै सामग्री बोकेर आफ्ना खेततिर लागेका थिए अनि आलीमा टुक्रुक्क बसेर ’पाहुना’ डाक्न थाले ।

    आजका पाहुना कुनै विशिष्ट आफन्त वा नातागोता थिएनन् । यो सत्कार थियो, भ्यागुतालाई । किसानले भ्यागुतालाई परिकार पस्किदिए । सामुन्ने नआए पनि तिनलाई रक्षा बन्धनको धागो दिए । सांकेतिक रूपमा सिन्दूर पहिरायाइ दिए । अनि ऐना (भातमा गाडिएका मुलाका चाना) देखाइ दिए । भ्यागुतोलाई दिए पछि किसानले आलीमै बसेर आफूले पनि भोज खाए । आफू हिँडेपछि भ्यागुताले खाने विश्वासमा उनीहरूको भाग त्यहीँ छाडिदिए ।

    प्रकृति पूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास गर्छन् । र, त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउँछन् । यही परम्परा धान्न भक्तपुरे किसान परिवारका कम्तीमा एक सदस्य बुधबार किस्ती बोकेर खेततिर लागे । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न भ्याइनभ्याइ थियो । कोही साइकलमा त कोही मोटरसाइकलमा हुइँकिइरहेका थिए ।

    प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ’ब्यां चा जानका वानेगू’ भन्छन् । नेपाल भाषामा ’ब्यां’ को अर्थ भ्यागुतो र ’जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।

    कृषक लक्ष्मीकेशरी खाताखो यसपालि पनि खानेकुरा बोकेर बिहानै आफ्नो खेत पुगिन् । हरिया पात बिच्छ्याएर भ्यागुतालाई ’भोज’ पस्किदिइन् । मसलाका रूपमा सुपारीको कुड्को पनि राखि दिइन् ।’भ्यागुताले खान्छ नै भन्ने छैन तैपनि उनीहरूका लागि एक भाग छाडिदिनु परम्परा हो,’ उनले भनिन्, ’म मात्रै होइन, यो दिन यहाँका सबै किसान भ्यागुतालाई भोज खुवाउँछन् ।’

    अर्का किसान रामबहादुर कासुला भ्यागुतालाई भाग लगाइसकेपछि आफूले पनि त्यहीँ भोज खाएर आउने चलन रहेको सुनाउँछन् । ’खासगरी यो दिन भ्यागुतालाई नै भोज खुवाउने हो । हामी पनि त्यो छाक उनीहरूकै बीचमा बसेर खान्छौं, घरबाटै पुग्ने गरी खानेकुरा लैजान्छौं,’ उनले भने ।

    संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन् । बालीनाली संरक्षण गरिदिएको कदरसहित वर्षमा एकपटक भ्यागुतालाई सम्झने परम्परा अहिले पनि जस्ताको त्यस्तै रहेको ठान्छन् उनी

    । ’भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गरिरहेको हुन्छ,’ उनले भने, ’भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिन्छ, बाली बिगारिदिने कीटाणु खाइदिन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend