बुधबार, भदौ ६, २०८०
काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख सचेतकहरुबीच भएको २ बुँदे सहमति भएको छ । यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ। साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन हुने भएको छ ।
सहमतिअनुसार सरकारले असोज ५ गतेमात्रै न्यायिक आयोग गठन गर्नेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले असोज २ गते अनुसन्धान सक्ने भएकाले त्यसपछि मात्रै आयोग गठन गर्ने निर्णय भएको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रहरीको अनुसन्धानलाई प्रभाव नपार्ने गरी आयोग गठन गर्न सबै सहमत भएको बताए । “प्रहरीले अहिलेको अनुसन्धानमा मुद्दा चलाउने काम गर्छ,” लेखकले भने, “यसमा कुनै प्रभाव पर्नेछैन । त्यसपछि अरु सुन तस्करीका घटनालाई छानबिन गर्नका लागि आयोग गठन गर्ने सहमति भएको छ । असोज ५ गते आयोग गठन गर्ने र आयोगले त्यही दिनबाट काम थाल्नेछ ।”
सहमतिपत्रमा रमेश लेखक (प्रमुख सचेतक, नेपाली कांग्रेस), पदम गिरी (प्रमुख सचेतक, नेकपा एमाले), हितराज पाण्डे (मुख्य सचेतक, नेकपा माओवादी केन्द्र), सन्तोष परियार (प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टी), ज्ञानबहादुर शाही (प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी), प्रदीप यादव (प्रमुख सचेतक, जनता समाजवादी पार्टी) र अब्दुल खान (प्रमुख सचेतक, जनमत पार्टी) को हस्ताक्षर रहेको छ ।


