काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल सरकार, नेपाल उद्योग परिसंघ, पूर्वाधार विकास मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा लगानी बोर्डसहित निजी क्षेत्रका विभिन्न संस्थाको सहआयोजना रहनेछ ।
‘उत्थानशील भविष्यका लागि पूर्वाधार निर्माण’ नारासहित हुने सम्मेलनमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, लगानीका अवसर र परियोजना कार्यान्वयनका चुनौतीबारे छलफल हुनेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य परियोजना प्रस्तुत गर्ने तयारी छ । हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन् । ऊर्जा, यातायात, सहरी विकासलगायत १२ क्षेत्रका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा राष्ट्रिय पूर्वाधार खाका, आगामी १० वर्षको विकास योजना र लगानीमैत्री कानुनी संरचनाबारे पनि प्रस्तुति दिइनेछ । साथै, सम्भाव्य परियोजनामा लगानी सम्झौता गर्ने लक्ष्यसमेत राखिएको छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् भने अध्यक्षता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गर्ने कार्यक्रम छ । सरकारले निजी क्षेत्रसँग सहकार्य विस्तार गर्दै पूर्वाधार क्षेत्रमा लगानीको वातावरण बनाउन सम्मेलनलाई महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

