२०८३, कात्तिक १५ गते

images
Logo

Nov 01 2026 | २०८३, कात्तिक १५ गते

images
  • आइतबार, कात्तिक १५ २०८३

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन


सञ्चार डबली
  • शनिबार, कात्तिक १४ २०८३
  • 902
    SHARES

  • बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

    बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् । 
        
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् । 

    यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीन जना भने बडीमालिका पुगेर फर्किसकेका उनले बताए। 

    चार हजार दुई मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको सूचना अधिकारी शाहीले जानकारी दिए ।

    ‘हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ ।’ 

    सूचना अधिकारी शाहीले त्यहाँ पुगेका मनिष हिमपातपछि हराएका र भारी हिउँ पर्दा तल झर्न नसक्दा सागर पनि अलपत्र परेका हुनसक्ने बताए। दुवै जनाको मोबाइल बन्द भएको संकेत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उनले बताए। 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend