२०८३, कात्तिक २० गते

images
Logo

Nov 06 2026 | २०८३, कात्तिक २० गते

images
  • शुक्रबार, कात्तिक २० २०८३

ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर


सञ्चार डबली
  • शनिबार, कात्तिक ७ २०८३
  • 3.7K
    SHARES

  • ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ ।

    ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङका लागि प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन ।

    यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइनेछ । घोषणापत्रअनुसार, अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ ।

    घोषणापत्रमा भन्सार महसुलको दायरामा गरिएको परिवर्तनले अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउने उल्लेख छ । साथै, यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी गरिएको छ ।

    ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा गरेको भनिएको भेदभावपूर्ण र अनुचित व्यवहारको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको तर्क गरेको छ । यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए ।

    अमेरिकी कदमको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो । क्यानाडाको उक्त प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो । दुवै देशबीचको भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend