सोमबार, साउन १५, २०८०
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाका कारण हुनसक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । भारी वर्षा, बाढी र पहिरोका कारण जन–स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
आज राति देशभर सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको छ ।


