शुक्रबार, साउन १२, २०८०
काठमाडौं । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोसी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।


